प्रभु साहकै स्वार्थले गौरमा २७ जनाको हत्या भयो, योजनाकार साह नै हुन् : अजय गुप्ता
अभिमनु पटेल- रौतहट, ३ भदौ । १९ वर्षअघि रौतहटको सदरमुकाम गौरमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो नरसंहार गौर राईस मिल हत्याकाण्ड पुनः चर्चामा आएको छ। सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय, गौरलाई निष्पक्ष छानबिन गर्न परमादेश दिएपछि यो घटना फेरि राष्ट्रिय बहसको विषय बनेको हो।
२०६३ साल चैत्र २७ गते गौरस्थित ऐतिहासिक राईस मिल प्राङ्गणमा मधेसी जनअधिकार फोरम र माओवादीबीचको कार्यक्रम व्यवस्थापनका कारण भीषण झडप हुँदा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो।
नेकपा एमाले रौतहट जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य अजय कुमार गुप्ताले यस घटनामा आफूलाई बारम्बार संलग्न देखाउने प्रयास भएपनि वास्तविक योजनाकार तत्कालीन माओवादी नेता प्रभु साह रहेको आरोप लगाएका छन् ।
गुप्ताले भने, त्यो बेला जिल्लाका शीर्ष नेता, अधिवक्ता, पत्रकार, नागरिक समाज र समाजसेवी व्यक्तिहरूका नाम प्रभु साहले स्वार्थका लागि सूचीमा राख्न लगाए। मेरो नाम समेत पहिलो नम्बरमा राखियो। तर घटना घट्नेबेलासम्म मलाई कार्यक्रमबारे कुनै जानकारी थिएन। २७ जनाको ज्यान जाने यस्तो नरसंहार योजनाबद्ध ढंगले प्रभु साहकै निर्देशनमा भएको हो।
उनका अनुसार माओवादीले विगतमा गौर बजारमा मच्चाएको अशान्तिलाई आधार बनाई साहकै आदेशमा परिचालन गरेर माओवादी कार्यकर्ताबाट तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको मञ्च माथि आक्रमण गराइएको थियो। सोही आक्रमणकै क्रममा ठूलो संख्यामा माओवादीका नेता/ कार्यकर्ताको ज्यान गएको हो।
गुप्ताले थपे, न्यायपालिका सर्वोच्च हो। दोषी जतिसुकै शक्तिशाली भए पनि समाज र न्यायको आँखाबाट बच्न सक्दैन। हामी निष्पक्ष छानबिन चाहन्छौं र अदालतलाई आवश्यक सम्पूर्ण सहयोग गर्नेछौं। पीडित परिवार १९ वर्षदेखि न्यायको प्रतीक्षामा छन्। अब सत्य बाहिर आउँछ र दोषी कानुनको कठघरामा पुग्नेछन्।
उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण पटक–पटक फसाउन खोजिएको दाबी गर्दै भने, मेरो जीवन वा राजनीतिक यात्रामा यो मुद्दाले कुनै अवरोध ल्याउने छैन। बरु पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामा सहयोग पुग्नेछ। नेकपा एमाले सधैं जनताको निर्णयलाई सर्वोपरी मान्छ र न्यायपालिकाको आदेशलाई सम्मान गर्छ।
गुप्ताले अन्त्यमा भने, आफै झाक्री, आफै बोक्सीको भूमिकामा रहेर घटनालाई बारम्बार भिन्न रूप दिने प्रभु साहको चाल अब काम लाग्दैन। यो छानबिनले षड्यन्त्रकारीको वास्तविक अनुहार समाज र राष्ट्र सामु प्रस्ट हुन्छ।
उद्योग वाणिज्य संघ रौतहटको सभाहलमा स्थानीय प्रशासनले घटना हुनुभन्दा एक दिन अगाडि नै तत्कालीन मधेशी जनअधिकार फोरम, माओवादी तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सहभागी गराई, विवाद टारियोस् र दुई पार्टीका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले कार्यक्रमलाई एक-दुई दिन अघिपछि सार्ने पहल गर्दा पनि मधेशी मुक्तिमोर्चाले मानेनन् । माओवादीका नेता तथा कार्यकर्ताहरूले अहंकारवंश कार्यक्रम सार्न अस्वीकार गरे, जसको परिणामस्वरूप ठूलो दुर्घटना भयो र २७ जनाले ज्यान गुमाउनुपर्यो, भन्ने कुरा नेकपा एमालेका जिल्ला इन्चार्ज गुप्ताले बताएका छन्।
प्रतिक्रिया