नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि चलेको स्थायी समिति बैठकले विभिन्न निर्णय र प्रस्ताव पारित गर्दै गुटबन्दी अन्त्य भएको घोषणा पनि गरेको छ ।
सोमबार सम्पन्न बैठकपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी तथा समूहको अन्त्य गरी एकताबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो । यो जिम्मेवारी पूरा गरेका छौँ ।”
उहाँले पार्टीले सामूहिक प्रतिबद्धतासाथ गुटबन्दी अन्त्य गरी एकताको सन्देश दिएको बताउनुभयो । फेरि एक पटक जनताबिच जाने सङ्कल्प गरेको र देशमा देखिएका समस्या समाधान गर्न जनमुखी आन्दोलन तीव्र बनाउने निर्णय भएको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै देशका समसामयिक चुनौती सम्बोधन गर्न नयाँ नीति तय गरेको बताउनुभयो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकबाट पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
पार्टीभित्र गुटबन्दी र स्वार्थ समूह खडा गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, “पार्टी रूपान्तरणको महाअभियानमा छ । गुट उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णयविपरीत जान्छ भने कारबाहीको दायरामा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउने निर्णय भएको छ ।”
कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तलका समितिको अनुगमन गर्ने छ । उहाँले भन्नुभयो, “अब साँच्चै विधि, प्रक्रियामा चल्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ ।” बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा २६ बुँदे प्रस्ताव पारित गरेको छ । जनजीविका, सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय मुद्दालाई समेट्दै प्रस्ताव पारित गरेको हो ।
माओवादीले रोकिएको जनअभियान भदौ १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठक दसैँपछि बस्ने र विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग एकता गर्नेबारे पनि बैठकमा सहमति भएको छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले माइनुटमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए पनि आत्मालोचना भने नगरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । पारित प्रस्तावमा चुरे दोहन, जलस्रोत व्यवस्थापनको कमी र वातावरणीय असन्तुलनले तराई–मधेशमा भू–जल सङ्कट निम्तिएको ठहर गर्दै खडेरी प्रभावित किसानलाई तत्काल राहत र आत्मनिर्भर कृषि अर्थतन्त्रका लागि दीर्घकालीन तथा अल्पकालीन योजना माग गरिएको छ
चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरी विधेयकमा भएको ढिलाइको विरोध गर्दै तत्काल पारित गर्न माग गरिएको छ ।
प्रतिक्रिया