काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको कार्यकाल थप हुने सम्भावना न्यून भएको छ ।प्रहरी विधेयक तत्काल संसदबाट पास हुने अवस्था छैन । अब उनको एक महिना मात्र कार्यकाल बाँकी छ । ३० वर्षे सेवा हदका कारण उनले १८ भदौमा अवकाश पाउनेछन् ।छोटो अवधिमा केही सुधारका काम गरेका थापाका लागि सरकारले अध्यादेश ल्याएर पदावधि थप्ने सम्भावना रहेको चर्चा पनि छ । तर, अन्य ब्याचका प्रहरीहरू रिसाउने भएकाले त्यो सम्भावना पनि न्यून छ ।
थापाको अवकाश मिति नजिकिँदै गर्दा एक महिनापछि नयाँ आईजीपीका लागि गृहकार्य सुरु भइसकेको छ । जसमा एआइजी चन्द्रकुबेर खापुङ एकल दाबेदार हुन् । उनकै ब्याचका कृष्णहरी शर्मा पोखरेल पनि पदमै छन् ।तर, १८ भदौअघि नै पोखरेलले ५६ वर्षे उमेर हदका कारण अवकाश पाउने भएपछि खापुङ एकल दाबेदार हुनेछन् । आईजीपी भएमा उनको कार्यकाल २७ कात्तिकसम्म हुनेछ ।
इन्स्पेक्टरको एउटै विज्ञापन भए पनि नियुक्ति फरक–फरक मितिमा दिइएकाले यसरी खापुङले आईजीपी हुने अवसर पाउन लागेका हुन् ।खापुङ प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्खौली जिल्ला तेह्रथुमका छिमेकी हुन् । उनको एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यस कारण दुई महिनाका लागि भए पनि उनी आईजीपी हुने सम्भावना छ ।पछिल्लो समय कांग्रेसका नेताहरूसँग पनि उनी सम्बन्ध विस्तारमा लागेका छन् । सिआइबीको प्रमुख भएकाले पनि उनलाई सम्बन्ध विस्तारमा सहज भएको छ ।
त्यसो त भदौमा आईजीपी हुने दाउमा त्यसपछिको ब्याच पनि लागेको छ । जसमा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाह छन् ।
उनीहरूमध्ये कार्की र शाहलाई मुख्य दाबेदार मानिएको छ । भदौमा नभए पनि कात्तिकमा उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।
प्रतिक्रिया