काठमाडौं । आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन तालिका फेरिने भएको छ । पाँच वर्षे कार्यकाल पूरा नभइ प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव नहुने अवस्था आएको हो ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ मा भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । त्यसपछि पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । त्यसकारण प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुन् लागेको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका छन् ।नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
प्रतिक्रिया